असार १३,२०८२

प्रधान कार्यलय

:9805312042

सम्पर्क समय : 10 AM ~5 PM

ओफिस समय 10 AM ~ 5 PM
फोन न. 9805312042
हामीलाई खोज्नुहोस् Facebook
हामीको हौँ? Our Team
गुगल नक्शा NRUM in google map

स्
वा


म्
!
गृह पृष्ठ  >  समाचार  >  अन्य  >  किरात संस्कृतिका जानकारहरू खुवालुङको कथनलाई यसरी बताउँछन्

किरात संस्कृतिका जानकारहरू खुवालुङको कथनलाई यसरी बताउँछन्

चैत्र ८,२०७७

पूर्वको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सुनसरीको बराहक्षेत्र हुँदै चतराबाट त्रिवेणी सिम्लेपछि भोजपुरको हसनपुर कोप्चेसम्म आवतजावत गर्ने गरी हाल जेट बोट सञ्चालनमा छ। व्यावसायिक रूपमा चलिरहेको जेट बोटका कारण त्यस क्षेत्रका बासिन्दाका लागि आवतजावत गर्न त सहज छ नै; पूर्वको सांस्कृतिक, प्राकृतिक बनावट हेर्न बुझ्न र केही समयका लागि रमाइलो अनुभूति गर्नेका लागि अहिले जेट बोट आकर्षणको केन्द्र बनेको छ। जेट बोटले आन्तरिक तथा बाह्य पर्यटकलाई त्यस क्षेत्रमा आकर्षित गरेको छ। हाल सञ्चालनमा रहेको जेट बोटमा एकोहोरो यात्राको समय १५ मिनेट हो। तर थप लामो दूरीमा सञ्चालन गर्न सकिने सम्भावना छ।

हाल जेट बोट चलिरहेको नदी बीच अरुण र तमोरको संगमस्थलमा एउटा ठूलो ढुंगो छ। यसलाई किराती समुदायले खुवालुङ नामले चिन्छन्। किराती समुदायको ऐतिहासिक सांस्कृतिक प्रतीकका रूपमा मान्ने खुवालुङ पछिल्लो पटक एकाएक चर्चामा छ। जेट बोटलाई सहज र बृहत्तर रूपमा सञ्चालन गर्न खुवालुङ (नदी किनारबीचको ढुंगो) पन्छाउनुपर्ने कुरा उठेको छ। सोही खुवालुङ फुटाउन प्रदेश सरकारबाट बजेटसमेत विनियोजन भएको छ। 

हाल जेट बोट चलिरहेको नदी बीच अरुण र तमोरको संगमस्थलमा एउटा ठूलो ढुंगो छ। यसलाई किराती समुदायले खुवालुङ नामले चिन्छन्।

तर केही हप्ताअघि विराटनगरमा भएको सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जेट बोट प्रसंगलाई जोडेर सप्तकोसी बगरको अवरोध सफाइ गर्ने बताएपछि आफूहरूको सांस्कृतिक विम्ब मेटिने भयले स्थानीय र किराती समुदायका अगुवाहरू संरक्षणमा जुटेका छन्। 

खुवालुङको कथन

किरात संस्कृतिका जानकारहरू खुवालुङको कथनलाई यसरी बताउँछन्— किरात (हाल राई, लिम्बू, याक्खा, सुनुवार) समुदायका आदिम पुर्खाअन्तर्गत तीन भाइ सप्तकोसीको किनारैै किनार पहाडतिर उक्लँदै गर्दा जब खुवालुङ पुगे, त्यहाँ ठूलो ढुंगोले बाटो छेक्यो। जेठा भाइ मुकुलुङले सोचविचार गरी चराको भोग दिएपछि ढोका खुल्यो। मुकुलुङ किनारैकिनार उकालो लागे। माइला भाइ हर्कबुङले दाइको सिको गर्दै साथमा भएको चेलीको कान्छी औंला काटेर रगत चढाएपछि बाटो खुल्यो र हर्कबुङसमेत किनारको बाटो हुँदै उकालो पहाडतिर चढे। हर्कबुङले चेलीको औंलाबाट रगत निकालेको चोटबाट थप रगत बगी नै रह्यो। अन्ततः त्यही कारण चेलीले ज्यान गुमाए। चेलीको रगत लागेको केराको पात सोही बेला बाख्राले खाएकाले किरात राईहरूले बाख्रालाई कुलपूजामा नचलाउने परम्परा हालसम्म कायम छ।

तर कान्छो भाइ रिव्लबुङ अलमलमा परे, खुवालुङको ढोका नखुलेपछि उनी पहाड उक्लन सकेनन् त्यही पेरिफेरीमा तराईतिर नै बसोबास गर्न थाले। जेठा मुकुबुङ हिमाली भेगसम्म पुगे र हिमाल आसपास बसोबास गरे। माइला हर्कबुङले किनार आसपास अलि माथि पहाडसम्म पुगेर थातथलो त्यतै निर्माण गरे। कान्छा रिव्लबुङले उसरी नै खुवालुङ तलतिर नै बसोबास बनाए। 

यसरी तीन भाइले खुवालुङ साँध बनाएर आफ्नो बसोबास थातथलो निर्माण गरे। आज उनै तीन भाइका सन्तान विभिन्न थर–उपथरमा छरिएर रहेका छन्। किराती समुदायले यसै खुवालुङलाई उद्गम थलो मान्दै विभिन्न नाममा पुकार्ने गर्छन्। किराती मुन्दुमी नक्छोङ (धामी)हरूले खुवालुङको कथनलाई पटक–पटक विभिन्न संस्कार गर्दा पुकार्ने गर्छन्। नक्छोङहरूमार्फत किरात समुदायले यसै खुवालुङमार्फत शक्ति आर्जन गर्ने, सिद्धि गर्ने भएकाले यसलाई किराती समुदायले आज पनि आस्थाको प्रतीक सांस्कृतिक विम्बका रूपमा लिने गर्छन्। त्यसैले पछिल्लो पटक किराती दाजुभाइहरू छुट्टिएको बिन्दु खुवालुङ भएकाले किराती मिथक र मुन्दुमको प्रसंगमा बारम्बार आउने गर्छ। 

खुवालुङसँग जोडिएको आस्था 

किराती समुदायको सांस्कृतिक विम्ब प्रतीकसँग गाँसिएको खुवालुङको कथाले उनीहरूको हालको जीवन पद्धति बोल्छ। उनीहरूको संस्कारसँग जोडिएर आउने खुवालुङको मिथकले भाषा, संस्कार, संस्कृति, रहनसहन र चालचलन संकेत गर्छ। किरात राई समुदायमा हाल रहेका थुप्रै भाषा, थर, पाछामा देखिने विविधतालाई खुवालुङकै मिथकले सम्बोधन गरेकाले समेत उनीहरूको आत्मिक सम्बन्ध खुवालुङसँग छ। खास समुदायको खास आस्था र भरोषा भन्नु नै कुनै अमूर्त चिजसँग जोडिएको हुन्छ। जसले उनीहरूलाई कसिलो गरी बाँधेको छ, उनीहरूको भावनात्मक एकता कायम भएको छ। प्रकृतिपूजक किराती समुदायको हजारौं वर्षदेखिको आत्मिक सम्बन्ध त्यही खुवालुङसँग छ। सुनकोसी, दूधकोसी, अरुण, तमोर क्षेत्रवरिपरि छरिएर रहेका समुदायले बारम्बार पुकार्ने गरेको खुवालुङसँग उनीहरूको वास्तविक भावना जोडिएको देखिन्छ। 

पुर्खाहरूलाई उभौली र उधौलीको अवसरमा सम्झिने, पूजा गर्ने किराती समुदायले खुवालुङलाई नै साक्षी राख्छन्। यसर्थ यसमा उनीहरूको खास भावना, मन, आस्था र विश्वास जोडिएको छ। सांस्कृतिक प्रतीक तथा विम्बका रूपमा रहेको खुवालुङ (नदीबीचमा रहेको ढुंगा) उनीहरूको आस्थाको केन्द्रबिन्दु हो।

तर अहिले मुन्दुमी लयमा बारम्बार आइरहने खुवालुङ भत्काउनुपर्ने, सप्तकोसी किनारमा जेट बोटलाई व्यवस्थित रूपमा सञ्चालन गर्न ढुंगा पन्छाउनुपर्ने भन्दै प्रदेश सरकारले बजेट नै विनियोजन गरेको छ। राज्य तहबाट स्थानीयवासीको आस्था, भावना र सांस्कृतिक सम्बन्धको अध्ययन नगरी एकाएक बजेट विनियोजन भएपछि स्थानीयवासीसँगै सरोकार राख्नेहरू असन्तुष्ट छन्। त्यसैले खुवालुङ संरक्षणमा जुटेका अभियन्ताहरूले हाल खुवालुङ भत्काउने काममा रोक लगाएका छन्। 

त्यहाँ चर्चा छ— सरकार पशुपतिमा करोडौंको गजुर थप्ने निर्णायमा पुग्छ तर किराती समुदायको आस्थासँग जोडिएको विशाल भावना भत्काउन उद्यत हुन्छ। भिन्न समुदाय, पृथक् जाति र खास बसोबास रहेको नेपालमा राज्य संरचनाले ठोस रूपमा यथास्थिति र परिस्थिति साथै स्थानीय समुदायको भावना बुझ्न सकेन भने त्यसले विद्रोहलाई जन्म दिन्छ। भावनामा ठेस पुग्छ, त्यसबाट क्रोध उत्पन्न हुन्छ। किनकि समुदायसँग जोडिएको भावनाको उचाइ र गहिराइको कल्पना निकै गहुँ्रगो गरी मनमस्तिष्कमा रहेको हुन्छ। 

नयाँ भौतिक संरचना निर्माण गर्न पुराना चिज भत्किनु र भत्काउनु स्वाभाविक होला। साथै, भत्काएर निर्माण गरिने चिजले मानिसको जीवनयापनलाई सहज त पुर्‍याउँछ नै तर उनीहरूको विश्वास र आस्था नै भत्काउन उद्यत भइयो भनेचाहिँ मानिसहरूबीचको सद्भाव र युगौंदेखिको आत्मिक सम्बन्धमा पहिरो आउँछ। यसर्र्थ प्रशस्त विकल्पका बाटाहरूमार्फत सहजताका पाटाहरू अवलम्बन गर्न सकिने आधार पहिल्याएर सांस्कृतिक आधार र विरासतलाई जोगाउनु कम चुनौती हैन। त्यो चुनौती मोल्न र सहज व्यवस्थापनमा जुट्न प्रशस्त छलफल र समुदायसँगको अन्तक्र्रिया आवश्यक छ। 

समुदाय सशक्त र समृद्ध भएमात्र समृद्ध मुलुकको कल्पना गर्न सकिन्छ। जग भनेको समुदाय हो। समुदायको धरातल नै कमजोर बनाएर कसरी मुलुक बलियो बन्न सक्छ ? यस्ता कैयन् सांस्कृतिक विम्ब र प्रतीकहरूको राज्यले खोजी गर्नुपर्छ र संरक्षणमा जुट्दै समुदायको भावनालाई उँचो बनाउन सक्नुपर्छ।

src: annapurnapost